मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले आयोगको कार्यक्रम अनुसार बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजाल, प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख तारा आचार्यलगायतको उपस्थिती थियो ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट ४ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रमुख निर्वाचन अधिकृत कार्कीका अनुसार बागमती प्रदेशमा ३ सय ४७ जना मतदाता रहेका छन् । प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । यसवर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको छ । मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।