मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आजबाट हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा आगामी पुस १७ गतेसम्म चल्ने महोत्सवको आज एक समारोहका बीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्धाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुदसंगै आर्थिक रुपमा जोडिएको हुँदा यसले दुवै क्षेत्रलाई टेवा पु¥याउने बताउनुभयो । उहाँले विषेश गरि खेल क्षेत्रको विकासको पवित्र उदेश्यका साथ संचालित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । विभिन्न धर्म संस्कृतिका झाँकी, विद्यार्थी, खेलाडी, विभिन्न झाँकीसहित हेटौंडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
महोत्सव अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने खड्गीले बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् ।