सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आउँदाे फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । आज बिहीवार बसेकाे पार्टीकाे पदाधिकारी बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि सात सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उहाँले बताउनुभयो । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो हप्ता नै बस्ने जानकारी दिनुभयो ।
बैठकमा पार्टीकाे चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको प्रवक्ता सापकाेटाले बताउनुभयो । अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता, कार्यकता र नागरिकका बीचमा नयाँ ढङ्गले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालेको उहाँले बताउनुभयाे । जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान पुस १६ गते सबै पालिकामा बृहत् जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिनुभएको विषयमा कुनै छलफल नभएको बताउनुभयो । पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको उहाँको भनाइ छ ।