प्रतिकारात्मक तस्विर

मकवानपुर । बागमती प्रदेशको १० जिल्लामा यो वर्षको चार्डपर्बको अवधिमा १५६ वटा सवारी दुर्घटना भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार काठमाडौ उपत्यका बहेक बागमती प्रदेशको १० जिल्लामा दसैँ यता कार्तिक १ गतेसम्म १५६ वटा सवारी दुर्घटनामा परि २३ जनाको मृत्यु भएको हो ।
यस अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी बरिष्ट उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । यस्तै यस अवधिमा नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारी साधन कार्बाहीमा परेको र सवारी कार्बाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
प्रवक्ता रेग्मीका अनुसार चार्डपर्व लक्षित सुरक्षा योजना अनुसार बागमती प्रदेशका १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरेर सेवा प्रदान गरिएको छ । जसबाट कार्तिक १ गतेसम्ममा गुनासो तथा सुरक्षाको क्रममा बढी भाडा लिने ५८ वटा सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा फिर्ता गराईएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा खटिएको प्रहरी टोलीले अबैध ओसार पसार गरेको करीब १३ कुईन्टल चिनी, र ९ लाख ४६ हजार ४२० बराबरको कपडा बरामद गरि आवश्यक कारबाहीका लागि सम्बन्धीत कार्यालयमा पठाएको छ । यसै अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा खटिएको प्रहरी टोलीले ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटाका, आसिबाजी जस्ता पदार्थ बरामद गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
प्रवक्ता रेग्मीका अनुसार यसै अवधिमा ३०९ वटा कसुर दर्ता भएकोमा ११९ जना मानिसलाई पक्राउ गरिएको साथै जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा कसुरमा १०८ जना मानिस र १६ लाख ८९ हजार ५२९ रुपैया बरामद गरि कानुन बमोजिम अनुसंधान भईरहेको छ ।