काठमाडौं – आज पहिलो साउने सोमबार, देशका शिवालयहरुमा भक्तहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ । साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।
शिवालयमा पुगेर बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृत लगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् । साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउनमा पाँच वटा सोमबार पर्नुलाई झन् शुभ मानिने पण्डितहरु बताउँछन् ।

व्रत महिमा

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ । शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ ।