हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रति नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले आपत्ति जनाएको छ । नेकपा एमाले संसदीय दलको बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बैठकले मुख्यमन्त्रीको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल शुरु हुन लागेको संकेत गरेकोले जनतालाई सचेत हुन अनुरोध गरेको छ । बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुङ्गो लगाइसकेकोमा त्यसका बिरुद्ध गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिएको भन्दै बिरोध गरेको हो ।
बैठकमा नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलको विषेश उपस्थिति रहेको थियो । बैठकमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशवराज पाण्डे, नवनिर्वाचित उपाध्यक्ष दावा दोर्जे लामा सचिव नवराज सिलवाल, उपसचिव प्रेम बहादुर महर्जन, उपत्यका विषेश कमिटीका उपसचिव उर्मिला सुनुवार लगायतको उपस्थिति रहेको थियो ।