मकवानपुर । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी हेटौंडा–१५, रातोमाटेमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । चाडबाडमा हुने भीडभाड तथा राजमार्गमा हुन सक्ने दुर्घटनासमेतलाई ध्यानमा राखि यात्रुको सहजताका लागि रातोमाटे चेकपोष्टमा एम्बुलेन्ससहितको सहायता कक्षा स्थापना गरिएको हो ।

चाडपर्वको समयमा नागरिक तथा विभिन्न गन्तव्यका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समेत सहकार्यमा स्थापित सहायता कक्षको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले आज उद्घनटन गर्नुभयो । सहायता कक्षका लागि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले एम्बुलेन्स उपलब्ध गराएको हो । चाडपर्वको समयमा सवारी साधानहरुले क्षमताभन्दा बढी यात्रु सवार गराउने, बढी भाडा असुल्ने र यात्रुलाई अनावश्यक दुःख दिने प्रबृत्तिलाई रोक्न साथै राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दैै तत्काल उद्धार गर्न मिल्ने गरि एम्बुलेन्ससहितको सहायता कक्षको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
उहाँकाअनुसार जिल्लामा विभिन्न ४ स्थानमा सहायता कक्षको स्थापना गरी यात्रुलाई सहज र सवारी साधानमाथि निगरानी बढाइएको छ । चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रुहरु गाडीमा बोक्दा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न सुरक्षा योजना समेत निर्माण भएको बताउनुभयो । नेपालीहरुको महान चाड वडा दशै, दिपावली तथा छठपर्वको अवसरमा मानिसहरुको आवतजावत तथा सवारी साधनको चाप बढ्दै जाने हुँदा बस पार्क, बजार क्षेत्र, राजमार्ग आदिमा हुने भिडभाड, बढी भाड लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुलाई सरल र व्यवस्थित तवरले आवतजावत गर्न यात्रु सहायत कक्ष स्थानपना गरिएको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ नम्बर वडा अध्यक्ष सुनिल माेक्तान, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरीहरु, केन्द्रका पदाधिकारी तथा सदस्यहरुलगायत स्थानीयहरुको सहभागिता थियो ।