हेटाैंडा, पुस ३० । मकवानपुरको थाहा नगरपालिकाको १९औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगति समीक्षात्मक प्रतिवेदन तथा संशोधित बजेट–कार्यक्रम बहुमतले पारित गरेको छ ।
नगर उपप्रमुख भरत गोपालीको अध्यक्षतामा भएको सभाले आर्थिक ऐन, २०८२ र विनियोजन ऐन, २०८२ संशोधन गर्नुका साथै थाहा नगर खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०७६ को पहिलो संशोधन प्रस्ताव पारित गरेको छ ।
अधिवेशनले नगरपालिकाले आफ्नै नम्स र स्थानीय दररेट तयार गरी लागू गर्ने प्रतिबद्धतासहितको प्रस्ताव पनि स्वीकृत गरेको छ । साथै लेखापरीक्षण प्रतिवेदन २०८०/८१ मा देखिएका केही बेरुजु नियमित ठहर गरी महालेखा परीक्षक कार्यालयमा लगत कट्टा गरिदिन अनुरोध गर्ने प्रस्तावसमेत पारित भएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाको कुल ९७ करोड ७० लाख रुपैयाँ बजेटमध्ये हालसम्म २२ करोड १४ लाख ९६ हजार रुपैयाँ खर्च भई २२.२६ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३१.८५ प्रतिशत र पूँजीगततर्फ ८.६९ प्रतिशत प्रगति रहेको छ भने आन्तरिक राजस्व संकलन लक्ष्यको १०.१५ प्रतिशत मात्र पुगेको छ ।
चालु वर्षका १५ वटा ठेक्का आयोजनामध्ये ११ वटाको ठेक्का आह्वान भइसकेको, ७ वटामा सम्झौता भई कार्यान्वयनमा रहेको र बाँकी प्रक्रिया मै रहेको जानाइएकाे छ । नगर तथा वडास्तरका गरी १८५ वटा आयोजना कार्यान्वयनमा रहेका छन्, जसमा ११ वटा सम्पन्न भइसकेकाे जनाइएकाे छ ।
अधिवेशनमा सभा सदस्यहरूले प्रस्तुत प्रस्तावहरूमाथि सुझाव राखेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, प्रशासन महाशाखा प्रमुख नवीन खालिङलगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।