मकवानपुर, पुस ३० । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरका चारवटा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको अवसरमा जिल्लाको मनहरी, कैलाश, बकैया र राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तामाङ बाहुल्यता रहेका यी पालिकाहरुले मञ्जुश्री संवत् २८६२ (ता ल्हो–घोडा वर्ग) सोनाम ल्होछारलाई हर्षोल्लासका साथ मनाउन गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जिल्लाको मनहरी गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा माघ ४ गते एक दिन गाउँपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
यस्तै, कैलाश र राक्सिराङ गाउँपालिकाले माघ ४ र ५ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । भने, बकैया गाउँपािलकाले माघ ३. ४ र ५ गते तीन दिन विदा दिने निर्णय गरेकाे छ ।
गाउँपालिकाहरूले जारी गरेका सूचनामा सोनाम ल्होछारले तामाङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायसहित आम नागरिकमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको छ । सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा हर्षोल्लासपूर्वक मनाइँदै आएको तामाङ समुदायको सांस्कृतिक पर्व हो ।











