मकवानपुर– मकवानपुरका स्थानीय तहका जन प्रतिनिधिहरुले प्रदेश सरकारले संचालन गर्ने योजनाहरु व्यवस्थित नभएको गुनासो गरेका छन् । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरद्धारा आयोजित समन्वय बैठकमा सहभागि स्थानिय तहका जनप्रतिनिधिहरुले समन्वयको अभावमा प्रदेश सरकारले संचालन गर्ने योजनाहरु व्यवस्थित हुन नसकेको बताएका हुन् ।

उनिहरुले प्रदेश सरकारले संचालन गर्ने योजनाहरुमा स्थानीय तहलाई थाहा नदिई संचालन हुने गरेको, एउटै योजनामा संघ, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गर्ने गरेको, स्थानीय तहले करोडौं लगानीमा गरेका डिपिआरलाई मान्यता नदिइएकोलगायतका समस्या आएको बताएका हुन् । एउटै योजनामा स्थानीय तहले डिपि आर गर्ने र सो डिपि आर लाई प्रदेश सरकारले मान्यता नदिने हुँदा समस्या भएको उनिहरुले बताएका छन् । जनप्रतिनिधिहरुले संघीय तथा प्रदेश सरकारसंग विभिन्न योजना संचालनमा नितिगत रुपमै पनि समन्वय हुन नसकेको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहसंगको समन्वयमा जिल्ला समन्वय समितिलाई अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने समेत बताउका छन् । समन्वयको अभावमा सबै भन्दा बढी प्रदेश सरकारका योजनाहरु व्यवस्थित हुन नसकेको उनिहरुको भनाई थियो । यस विषयमा प्रदेश सरकारसंग छलफल गर्नुपर्ने र यसमा जिल्ला समन्वय समितिले भुमिका खेल्नुपर्ने जनप्रतिनिधिहरुको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहमा आइपरेका अन्य विभिन्न समस्याका विषयमा समेत छलफल भएको थियो । बैठकमा मनहरी र राक्सिराङ गाएँपालिका बिचको सिमा विवाद, नदि जन्य पदार्थको ठेक्का बन्दोबस्ती, स्थानीय तह सहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिता संचालन लगायतका विषयमा छलफल भएको प्रमुख खुलालले बताउनुभयो । राक्सिराङ र मनहरीको सिमा विवादका विषयमा समिति गठन भएको र सो समितिको प्रतिवेदनको आधारमा निर्णयमा पुग्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै स्थानीय तहले समयमै नदिजन्य पदार्थको ठेक्का बन्दो वस्ती गर्ने तथा सोको व्यवस्थापनमा समेत ध्यान दिने निर्णय भएको उहाँले बताउनुभयो । साथै ईन्द्रसरोवर गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणले स्थानीय सरकार संचालन एन २०७४ विपरित नदि जन्य पदार्थको ठेक्का बन्दोबस्तीगर्न लागेको हुनाले सोका लागि प्राधिकरणसंग छलफल गर्ने र त्यसो नगर्न निर्देशन दिने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै मकवानपुरमा संचालन हुने स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता संचालनका लागि सबै स्थानीय तहले सहयोग गर्ने निर्णय भएको छ । साथै प्रतियोगिता व्यवस्थित हुनु पर्ने र सबैलाइृ अपनत्व हुने गरि संचालन गर्न आयोजकसंग थप परार्मश गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठोरलगायत १० वटै पालिकाका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो ।