हेटौँडा/मकवानपुरको ऐतिहासिक बस्ती थाहा नगरपालिका ९ को चित्लाङमा शुक्रबार हिलेजात्रा आयोजना गरिएको छ । लामो समयदेखि रोकिएको ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिलेजात्रा) यो वर्ष पुनः आयोजना गरिएको हो ।
जात्रा आइतबारसम्म चल्ने स्थानीय राजन बलामीले जानकारी दिए । उनका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर बिहानको ११ बजेदेखि राति ७-८ बजेसम्म नाचगान गरिन्छ । जात्रामा गोरु एक हल, हली, बाउसे चार जना, रोपार तीन/चार जना, राजा एक जना, रानी दुई जना, राम, लक्ष्मण र हनुमान, कात्तिक नाचमा जस्तै तीन जना जोगीलगायतका पात्र हुने गर्छन्। योसँगै कात्तिक नाचमा जस्तै बाजा बजाउनेलगायत झन्डै १५ जना गुरु रहने बलामीले बताए । रोपाइँजात्रा जस्तै हो बलामीले भने , “रोपाइँ भएको छ छैन सोध्ने, रोपाइँ गर्ने र मनोरञ्जनका लागि राजारानी र भगवान्को नाच प्रदर्शन गर्ने गरिन्छ । देउसिरेमा जस्तै मागिन्छ। जात्रामा गएकालाई रोपाइँमा जस्तै खाजा, ज्यालाका अतिरिक्त कतिपयले पूजा सामग्री र पूजा खर्च दिने प्रचलन छ ।