हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सन्चालित पहिलो र एकमात्र स्याटेलाईट टेलिभिजन नेशनल गोल्ड टेलिभिजन र मकवानपुरकै पुरानो रेडियो स्टेसन हेटौंडा एफ.एम.को संयुक्त आयोजनामा तीज गित महोत्सब हुने भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिगतमा जस्तै यो वर्ष पनि तीजगित महोत्सबलाई निरन्तरता दिन थालिएको मकवानपुर मिडिया प्रा.लीका अध्यक्ष उज्ज्वल चौँलागाईले जानकारी दिनुभयो ।
आगामी असोज १ गते हरितालिका तीजकोे दिन हेटौँडा ४ स्थित पशुपती मन्दिर परिसरमा महोत्सव हुने चौलागाईले बताउनुभयो । १५औँ महोत्सवको रुपमा यस बर्षपनि महोत्सवलाई निरन्तरता दिन लागिएको उहाँको भनाई छ । हेटौडा एफ एमले स्थापना कालदेखी अयोजना गर्दै आएको तीजगित महोत्सबलाई विगतको वर्षदेखी हेटौँडा एफ एम र नेशनल गोल्ड टेलिभिजनले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा तिज गीत प्रतियोगीता हुने छ भने महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । मौलिकता तथा परम्परा जर्गेना गर्ने साथै हरितालिका तिजको अवसर पारेर गाउँ गाउँमा लुकेर बसेका प्रतिभावान नारिहरुको प्रतिभालाई प्रस्तुत गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको चौलागाईको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने गायन समुहलाई नगद १५ हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद १० हजार र तेश्रोलाई नगद ५ हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट नृत्य गर्ने एक जनालाई चादीँको पाउजु उपहार दिईने छ । प्रतियोगितामा निःशुल्क नाम दर्ता गराउने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा सहभागि हुन तीज भाकामा समूह गायन हुनु पर्ने तथा वाद्य वादनको व्यवस्था एफएमले मिलाउने जानकारी दिइएको छ ।