मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्रदेशका मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयहरुको कार्यक्षेत्र अन्तर्गत पर्ने कामकारबाहीलाई तोकिएको समयमा नै सम्पन्न गर्ने र प्रदेश सरकारले लिएको लक्ष्यहरू हासिल गर्ने योजनका साथ बुधबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा कार्यसम्पादन सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीका बारेमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका ८ जना मन्त्रीहरुसंग छुट्टा छुट्टै कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । प्रदेश सरकारका ११ जना मन्त्रीमध्ये तीनजना मन्त्रीहरु काम बिशेषले हेटौंडाबाहिर रहनु भएकाले उहाँहरुसँग पछि सम्झौता हुने प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
आज मुख्यमन्त्री जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ), आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काबीच कार्यसम्पादन सम्झौता भएको छ । यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालसँग सम्झौता हुन बाँकी छ ।
कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालु आवमा गर्नुपर्ने कामहरू, कार्ययोजना, समयसीमालगायत उल्लेख गरिएको छ । सम्झौतापत्रमा आगामी कात्तिक महिनाभित्र सबै योजनाको काम अघि बढाउनुपर्ने उल्लेख छ । साथै छ महिनाभित्र प्रगति विवरण सार्वजनिक गरी मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने पनि उल्लेख गरिएको छ । कार्यसम्पादन सम्झौतापछि मुख्यमन्त्री जम्कट्टेलले सम्झौताले प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदेशको विगतका पाँच वर्षहरूको अनुभवका आधारमा चालु आवको कार्यक्रम र बजेट ल्याइएको भन्दै प्रदेश सरकारले अब कामलाई तीव्रता दिने बताउनुभयो ।