फाइल फाेटाे

हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा आयोजना गरिएको “बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी” मा उहाँले त्यसतर्फ सरकारको ध्यान जाने बताउनुभयो ।
तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भएर नआएसम्मका लागि त्यसको व्यवस्थापनको पहिलो दायित्व सङ्घीय सरकारको भएको उहाँले बताउनुभयो । उहाँले समायोजन भइसकेपछि बागमती प्रदेशले प्रहरीका लागि धेरै काम गर्न सक्ने बताउनुभयो । “जस्ताका छाप्रोमा र बहालमा बसिरहेका प्रहरीले साङ्गठनिक अवस्था चुस्त दुरुस्त नभएसम्म सोचेजस्तो काम गर्न सक्दैन”, उहाँले भन्नुभयो, “भवन निर्माणदेखि गाडी किन्ने कुरामा प्रदेश सरकारले निरन्तरता दिनेछ ।”
ठूला लगानी एकै पटक गर्न नसकिए पनि ठूलो महत्व राख्ने सामान्य खालका कामका लागि अभावमा रहने अवस्था नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । त्यससँगै उहाँले गर्न सक्नेसम्मको अवस्थामा नयाँ प्रविधि जोडेर काम गर्न आवश्यक रहेको बताउनुभयो । अब हिजोकै परम्परावादी सोच र त्यहीअनुसारका शैलीले माथि पुग्न नसक्ने उहाँको भनाइ थियो । त्यससँगै हरेक ठाउँमा ध्यान पुर्याउनुपर्ने प्रहरीको पीडा बुझ्न सकिएन भने गम्भीर समस्या हुने भएकाले समायोजन भएर आएपछि शववाहन, दमकल, एम्बुलेन्सलगायतका प्राविधिक कुरामा व्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव मदन भुजेलले भौतिक भवन र दरबन्दीका लागि पहल गरिने बताउनुभयो । प्रदेश प्रहरी गठन भइसकेपछि रिक्त दरबन्दीलाई समयमै पदपूर्ति गर्ने, सरुवा बढुवालाई नियमित र व्यवस्थित बनाउने, कर्मचारीलाई आवश्यकतानुसार तालीम दिने काम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने उहाँले बताउनुभयो । अहिले भइरहेको भन्दा अझ व्यवस्थित किसिमले प्रहरीलाई परिचालन गरिने उहाँको भनाइ थियो । सो क्रममा उहाँले क्रसर उद्योगको व्यवस्थित, मर्यादित र दीर्घकालीन समाधान गर्न सङ्घीय सरकार र प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले प्रहरी कार्यालयले गर्ने काममा गर्ने पहलकदमीको विषयमा ठोस् विषय आउन आवश्यक रहेको बताउनुभयो । गरेको काम अब तथ्याङ्कगतरुपमा प्रस्तुत गर्न उहाँले मातहतका कार्यालयलाई आग्रह गर्नुभयो । प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालय र वाग्मती प्रदेश प्रहरी तालीम केन्द्र दुधौलीले आ–आफ्नो कार्यालयको तर्फबाट भएका कामको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोकलगायत बागमती प्रदेश प्रहरी तालीम केन्द्र दुधौली सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको सहभागिता थियो ।