मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आगामी फागुन महिनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । परिषद्को बोर्ड बैठकले आगामी फागुन २४ देखि ३० गतेसम्म अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने निणर्य गरेको तर, स्थान भने तय भइ नसेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने उहाँले बताउनुभयो । दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश गरिएका १३ खेललाई नै अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा समावेश गरिने सदस्य–सचिव भण्डारीले बताउनुभयो ।
दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड आगामी माघ मसान्तसम्म गर्ने निणर्य समेत गरेको छ । यस्तै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा गत आर्थिक वर्षको समीक्षा समेत भएको थियो ।