मकवानपुर,जेठ २८ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले नेपाल रेडक्रस सोसाइटीका ११ जिल्ला शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमता वृद्धि गर्ने उद्देश्यले रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवा बाहेकका प्रदेशका ११ जिल्लामा उपकरण वितरण गरेको हो ।
स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरले संयुक्त रूपमा रेफ्रिजेरेटरहरु हस्तान्तरण गर्नुभयो । रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर सहयोग मानव सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुहुँदै रक्तसञ्चार सेवाको प्रभावकारिता अझ बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रगत सङ्कलन, भण्डारण र वितरण प्रक्रियामा बेला–बेला सेवाग्राहीका गुनासा आउने गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले पारदर्शी, अनुशासित र जिम्मेवार ढङ्गले सेवाग्राहीका गुनासोरहित सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले रक्तसञ्चार सेवाको दिगोपना र सुरक्षित रगत भण्डारण सुनिश्चित गर्न प्रदेश सरकारले रेफ्रिजेरेटर सहयोग उपलब्ध गराएको बताउनुभयो । रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूले प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको उहाँले उल्लेख गर्नुभयो । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्रकुमार झा, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला थापा तथा ११ जिल्लाका रेडक्रस शाखाका सभापतिहरूको उपस्थिति रहेको थियो ।
प्रतिगोटा २ लाख ७५ हजार ५५५ रुपैयाँ (भ्याट बाहेक) का दरले कुल ३१ लाख रुपैयाँ (भ्याट बाहेक) लागतमा खरिद गरिएको २३० लिटर क्षमताका उक्त रेफ्रिजेरेटरमा एकैपटक १५० वटा ब्लड ब्याग सुरक्षित राख्न सकिने साथै थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट, डाटा व्यवस्थापनलगायत आधुनिक सुविधा रहेको केन्द्रका बायोइन्जिनियर नेल्सन महतले जानकारी दिनुभयो ।