हेटौंडा, जेठ २७ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा यहि जेठ ३० गते शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हेटौंडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा आयोजना गरिने भएको हो ।
हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहआयोजना र टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकाे व्यवस्थापनमा सञ्चालन हुने शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेष सहयोग रहने वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयाे । वडा अध्यक्ष सिग्देलका अनुसार वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहकार्यमा यस प्रकारको बृहत् स्वास्थ्य शिविर तेस्रो पटक आयोजना हुन लागेको हो ।
शिविरमा मुटुरोग, क्षयरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ । साथै भिडियो एक्स–रे, ईसीजी, ईको सेवा निःशुल्क उपलब्ध गराइनेछ । सुगर तथा लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे र पीएफटी (दम परीक्षण) समेत निःशुल्क गरिने जनाइएको छ । महिलाहरूका लागि पाठेघर तथा पाठेघरको मुखको क्यान्सर परीक्षणको व्यवस्था गरिएको छ । यसका अतिरिक्त जनरल फिजिसियन सेवा तथा आवश्यक परेमा सात दिनसम्मका लागि औषधि पनि निःशुल्क उपलब्ध गराइने जनाइएकाे छ ।
वडा अध्यक्ष सिग्देलले स्वास्थ्य शिविरबाट प्रदान गरिने निःशुल्क सेवाको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नु भएकाे छ । उहाँका अनुसार शिविरको मुख्य उद्देश्य स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच विस्तार गर्नुका साथै स्वस्थ नगर निर्माण अभियानलाई प्रभावकारी बनाउनु रहेको छ ।