मकवानपुर, जेठ २७ । मकवानपुरको बकैया गाउँपालिकाले मकैको न्यूनतम समर्थन मूल्य तोकेको छ । किसानले लागत अनुसार उचित मूल्य नपाइरहेको भन्दै आफ्नो पालिका भित्रका किसानले उत्पादन गरेको मकैको न्यूनतम समर्थन मूल्य प्रति किलो ३५ रुपैयाँ निर्धारण गरेको हो ।
गाउँपालिकाले पालिकाभित्रका किसानहरूलाई राहत दिने उद्देश्यले मकैको समर्थन मूल्य निर्धारण गरेको अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार किसानहरूले बजारमा समर्थन मूल्यभन्दा कम मूल्य पाउने अवस्था सिर्जना भएमा गाउँपालिका आफैँले तोकिएको समर्थन मूल्यमा मकै खरिद गर्ने व्यवस्था समेत मिलाएको छ ।
आफ्नो उत्पादन गाउँपालिकालाई बिक्री गर्न चाहने किसानले गाउँपालिकाले सञ्चालन गरेको बकैया औद्योगिक ग्राममा आफूले बिक्री गर्न चाहेको मकैको स्पष्ट परिमाण खुलाई निवेदन पेश गर्नुपर्ने जनाएको छ । यस्तै निवेदनसंगै बकैया गाउँपालिका भित्रको किसान प्रमाणित हुने नागरिकताको प्रतिलिपि बुझाउनु पर्नेछ ।
गाउँपालिकाले स्थानीय स्तरमा नै रोजगारी सिर्जना र कृषि अर्थतन्त्र बलियो बनाउन औद्योगिक ग्राम सञ्चालनमा ल्याएको छ । गाउँका किसानलाई सस्तोमा दाना र घाँस उपलब्ध गराएर पशुपालनमा आकर्षित गर्ने उदेश्यका साथ आफ्नै लगानीमा औद्योगिक ग्राम सञ्चालन गरि साइलेज तथा दाना उत्पादन गरेर स्थानीय किशानलाई सहुलियतमा उपलब्ध गराउँदै आएको छ ।