मकवानपुर — बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि साताव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार प्रत्रकार सम्मेलन मार्फत लम्पी स्किनको महामारी नियन्त्रण तथा रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
गाईभैंसीमा तीब्र रुपमा फैलिरहेको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर साउन २५ गते बिहीबारदेखि ३१ गते बुधबारसम्म खोप अभियान सञ्चालन गर्न लागेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । एक हप्तामा प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्रमार्फत खोप लगाइने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अभियानअन्तर्गत ५० हजार खोप लगाइनेछ । खोप लगाउनका लागि भ्याक्सिनेटरहरु नियुक्त गरिसकिएको र खोप समेत विज्ञ केन्द्रले खरिद गरिसकेको उहाँले जानकारी दिनुभयो ।
यस अभियान प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ९१ वटामा सञ्चालन गरिनेछ । बागमती प्रदेशभर करिब २ लाख ५ हजार पशु यस रोगबाट प्रभावित भएका छन् । हालसम्म करिब ६२ सय पशुको यस रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । स्थानीय तह र मन्त्रालयले गरी हालसम्म १ लाख ३३ हजार पशुलाई यस खोप लगाइसकिएको समेत जानकारी दिईको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले लम्पी स्किनले महामारीको रुप लिइरहेको अवस्थामा अझै धेरै पशुमा संक्रमण हुने सम्भावना बढेको कारण सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले यस क्रममा रोगबाट प्रभावित गाई तथा भैंसीलाई खोप नदिइने समेत जानकारी दिनुभयो । रोगको संक्रमण फैलिएको स्थानमा खोप अभियान सञ्चालन गर्दा धेरै पशुको मृत्यु हुनसक्ने हुँदा संक्रमण नफैलिएको स्थानमा अभियान सञ्चालन गरिन लागिएको उहाँले बताउनुभयो ।