नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदाे भदाै १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकाेटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो ।
उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनुभयो । यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उहाँले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाकाे जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा हामी वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, सङ्गठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छाैँ । याे हाम्राे करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ ।’
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्ध रहेको बताउनुभयो । सुन प्रकरणकाे ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सीआईबीलाई जिम्मेवारी दिइएको उहाँकाे भनाइ छ । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँकाे दाबी छ ।
प्रवक्ता सापकोटाले नागरिक महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनुभयो । उहाँले बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आउँदाे पदाधिकारी बैठकमा आफूले कुरा उठाउने उहाँकाे भनाइ छ ।
सापकाेटाले युवाहरू विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरू नै विदेशिएका बताउनुभयो । युवाहरू विदेशिनु खतराको विषय भएको भन्दै उहाँले यो विषयलाई राष्ट्रले प्राथमिक एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।











