मकवानपुर, जेठ २७ । उद्योग संघ मकवानपुरले हेटौँडा औद्योगिक क्षेत्रमा भाडा विवादको विषयमा गम्भीर आपत्ति जनाएको छ । बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पछिल्ला कदमप्रति गम्भीर आपत्ति जनाएको हो ।
संघले उद्योगीहरूलाई एकपक्षीय रूपमा दोषी देखाउने, बक्यौताको नाममा नाम सार्वजनिक गर्ने र कानुनी कारबाहीको धम्की दिने कार्यले औद्योगिक वातावरण बिगारेको ठहर गरेको छ । भाडा वृद्धि सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा उद्योगीहरूलाई मात्रै दोषी चित्रण नगर्न समेत संघले ध्यानाकर्षण गराएकाे छ ।
पत्रकार सम्मेलनमा उद्योग संघ मकवानपुरका अध्यक्ष श्रीधर मास्केले केही वर्षअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि गर्ने निर्णय गरेको विषयमा उद्योगीहरू अदालत गएको र अदालतले आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको भएपनि त्यसको पूर्ण पालना नगरी उद्योगीहरूको नाम सार्वजनिक गरिनु न्यायसंगत नभएको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा लगानी नै प्रभावित हुने गरि भएको निर्णयले उद्योगहरु थप निरुत्साहि हुने बताउनुभयो ।
यता, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने उद्योगहरूबाट ठूलो रकम उठ्न बाँकी रहेको जनाएको छ । कार्यालयकी प्रमुख संगीता कुँवरका अनुसार औद्योगिक क्षेत्रभित्रका १३१ वटा उद्योगहरूबाट हालसम्म करिब २० करोड ९० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । उक्त बक्यौता रकममा बढाइएको भाडादर मात्र नभई, साविकको नियमित भाडा, विद्युत् तथा खानेपानी शुल्कसमेत जोडिएको कुँवरले बताउनुभयो ।
उद्योग संघ मकवानपुरले यो विवादलाई थप टकरावको विषय बनाउनुको सट्टा संवाद र सहमतिको माध्यमबाट टुङ्ग्याउनु पर्नेमा जोड दिएको छ । औद्योगिक क्षेत्रको विकास, उत्पादन वृद्धि, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि उद्योगी व्यवसायी र व्यवस्थापन पक्षबीचको अविश्वास तत्काल हट्नुपर्ने संघको धारणा छ । संघले सरकारले बजेटमा घोषणा गरेको औद्योगिक क्षेत्रका उद्योगहरूलाई भाडादरमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सरकारसँग माग गरेको छ ।