मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित हाँडिखोलमा गाउँपालिकाको लगानीमा सुपथ मूल्य फार्मेसी पसल खुलेको छ । हाँडीखोला स्वास्थ्य चौकीबाट सञ्चालन हुने गरी फार्मेसीको शुक्रवार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गर्नुभएको हो ।

फार्मेसी पसल सञ्चालन गर्न मनहरी गाउँपालिकाले २ लाख रुपैयाँ लगानी गरेको छ । मनहरिको हाँडिखोलाका बासिन्दाहरू अब सामान्य रुघा खोकीको औषधी किन्न मेडिकल धाउनु नपर्ने भएको छ । प्रेसर, सुगर लगायत ८० प्रकारको औषधीहरू सहुलियत दरमा फार्मेसीबाट पाउन सकिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । ३८ प्रकारका औषधीहरू फार्मेसीबाट निःशुल्क वितरण भइरहेको छ । सहुलियत मूल्यमा गाउँमै औषधि उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् ।