मकवानपुर– मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको लागि औपचारिक थालनी गरिएको छ । विश्वविद्यालयका परामर्शदाताहरुको उपस्थितीमा शनिबार विश्वविद्यालय निर्माणस्थलमा साईनबोर्ड राखिएको हो । चिनियाँ राष्ट्रपति सी जिनजिङको राजकीय नेपाल भ्रमणमा क्रममा विश्वविद्यालय निर्माणका लागि सहयोग गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार विश्वविद्यालय निर्माणको लागि आवश्यक जमिन र अन्य पूर्वाधारको परामर्शदाता टोलीले अवलोकन समेत गरेका छन् ।
ललितपुरको सैँबुका सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले विश्वविद्यालय निर्माण पूर्वाधार क्षेत्रको लागि इआए प्रतिवेदन तयार पार्न सूचना प्रकाशित गरिसकेको छ । ‘इआए प्रतिवेदन तयार पार्नको लागि सूचना प्रकाशित गरिएको छ, चित्लाङमा विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढ्यो’, विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका परामर्शदाता सञ्जय खनालले भने, ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण सम्बन्धि विधेयक सदनबाट पारित भएपछि थप काम अघि बढ्छ ।’
शनिबार उनीसँगै समितिका परामर्शदाताहरु भक्तबहादुर आले, रमेश मास्के लगायत ११ जना परामर्शदाता र प्राविधिकहरुको टोलीले विश्वविद्यालय निर्माणको फिल्ड कार्यालयलय निर्माण स्थलको अवलोकन गरेको छ । ‘विश्वविद्यालय निर्माणस्थल नजिकै हामीले फिल्ड अफिस निर्माण स्थल छनौट गरेका छौं,यसको लागि सरकारले ५ करोड रुपैयाँ बिनियोजन गरिसकेको छ’, समितिका परामर्शदाता भक्तबहादुर आलेले भने, ‘अब छिट्टै टेण्डर प्रक्रिया टुङ्ग्याएर फिल्ड अफिस निर्माण गरी अन्य काम सुरु गर्छौ ।’
विश्वविद्यालय निर्माणको लागि स्थानीयले ७ सय ४० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामध्ये २ सय रोपनी जग्गा स्वच्छन्द भैरव माविले उपलब्ध गराएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए । ‘हामीले विश्वविद्यालय निर्माणको लागि चाहिने जग्गाको ब्यवस्था गरेका छौं, निर्माणको लागि आवश्यक सबै सहयोग गर्न तयार छौं’, उनले भने, ‘चित्लाङमा नै विश्वविद्यालय निर्माण हुने भएपछि हामी स्थानीयबासी निक्कै उत्साहित भएका छौं ।’
नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरिसकेको छ । विश्वविद्यालयको सबै संरचना निर्माण गर्दा करिब ४३ अर्ब रुपैयाँ लाग्ने समितिको अनुमान छ । उक्त रकममध्ये चालु आर्थिक वर्षमा सरकारले प्रारम्भिक तयारी र निर्माणको काम थाल्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउने लक्ष्य राखेको विश्वविद्यालयमा चार हजार विद्यार्थीले अध्ययन गर्न पाउने समितिले जनाएको छ । एमए माथिका अनुसन्धन र खोजका विषयमा अध्ययन–अध्यापन हुने विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु गर्ने लक्ष्य लिइएको समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए । उनका अनुसार विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्याय लगायतका विषय र क्षेत्रमा दक्ष्य जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ ।
सरकारल उक्त विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकलाई यस अघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । हाल उक्त विधेयक समितिमा छलफलको क्रममा रहेको छ । विश्वविद्यालय निर्माणस्थल काठमाण्डौंको थानकोटबाट २ घण्टाको पैदल दुरी र आधा घण्टाको मोटरयात्रमा पुगिन्छ ।