मकवानपुर – मकवानपुर प्रहरीले तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको १ सय ८३ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले १ सय ८३ केजी गाँजासहित गाँजा ढुवानी गर्ने गाडी र चालकलाई पक्राउ गरेको हो ।
प्रहरीले लागुऔषध गाँजासहित पक्राउ परेका थाहा नगरपालिका–२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । भीमफेदी–२, भैंसेस्थित चेकपोष्टमा रोकी सुरक्षाजाँच गर्ने क्रममा पालुङतर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडिमा प्रहरीले गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले बरामद गाँजा, ढुवानी गर्ने गाडीसहित पक्राउ परेका सिन्तानलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।