मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरगढी गाउँपालिकामा व्यवस्थित विकास भएको बताउनुभएको छ । बिहीबार गाउँपालिकाको अनुगमनका क्रममा उहाँले गाउँपालिकाले पुर्वाधार, सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा व्यवस्थित रुपमा काम गरेको बताउनुभयो ।
प्रमुख खुलालको नेतृत्वमा बिहीबार गाउँपालिकाको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधार लगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको अनुगमन गरेको हो । सो क्रममा टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तह घोषणाको तयारी, समस्या तथा चुनौति, स्थानी तह स्वमुल्याङ्कन (लिजा) को विषयमा समेत जानकारी लिएको थियो । अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष बिदुर हुमागाई लगायत गाउँपालिकाका कर्मचारीहरुले हालसम्मको प्रगतिको अवस्था र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो ।
सो क्रममा उहाँहरुले गाउँपालिकाको कुल ५०८ वटा योजनाहरु मध्ये हालसम्म ४३५ वटा अर्थात ८० प्रतिशत सम्झौता सम्पन्न भईसकेको जानकारी दिनुभयो । यस्तै हालसम्म करीब ४० प्रतिशत अर्थात १३५ वटा योजनाहरु सम्पन्न नै भइसकेको जानकारी दिईएको छ । गाउँपालिकामा ठेक्का मार्फत सञ्चालन हुने कुल ८ वटा योजना मध्ये ६ वटा सम्झौता भइसकेको र २ वटा ठेक्का निकाल्न बाँकी रहेको बताईएको छ । अन्य स्थानीय तहजस्तै गढी गाउँपालिकामा पनि आन्तरिक स्रोतको अभावमायोजनाहरु कार्यान्वयनमा भने समस्या रहेको गाउँपालिका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । यस्तै बालमैत्री गाउँपालिका घोषणाको तयारी करीब अन्तिम चरणमा पुगेको समेत उहाँले बताउनुभयो ।
सो क्रममा अनुगमन टोलीले गाउँपालिकाका विभिन्न योजनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन टोलीले सामरी खोलामा निर्माण भएको र निर्माणाधिन ६० लाख, ३ करोड ५० लाख र १५ करोड लागतको तीनवटा पुल, ६ करोडको लागतमा निर्माणाधिन १५ शैयाको अस्पताल, गाउँपालिका, प्रदेश सरकार र सहकारीको साझेदारीमा सञ्चालित दाना उद्योग, पशुमैत्री पार्कलगायत योजनाहरुको अनुगमन तथा निरिक्षण गरेको थियो ।
अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, सिता अधिकारी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, जिसस प्रेस संयोजक बिवश अधिकारीलगायत गाउँपालिकाका कर्मचारीहरुको सहभागिता थियो ।