भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट १५० जना बालबालिका भागेका छन् । बालसुधार गृहमा सजाँय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर उत्पन्न तनावबिच आज प्रदर्शनका क्रममा उनीहरू सुधार गृहको ढोका फोरेर भागेका सुधार गृहले जनाएको छ ।
अहिले प्रहरीको नियन्त्रणमा ४२ जना बालिका बन्दी र ८७ जना बाल बन्दी रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको र बाँकी भागेकाहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सुधार गृह प्रशासन र प्रहरीमाथि कारबाहीको माग गर्दै घरेलु हतियार सहित उनीहरू विरोधमा उत्रिएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । सुधार गृहमा सजाँय भुक्तान गरिरहेका बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
बाहिरी उक्साहटमा लागेर उपद्रो नगर्न भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले छानविन समितिले सत्यतथ्य बाहिर ल्याउने भएकाले संयमित बन्न र कानुन बाहिर नजान बन्दी र आफन्तजनमा आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानविन समिति गठन गरिसकेको छ । समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ । बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर थिमि ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
यूसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु रहेका छन् । यहाँ २१० जनाको क्षमता रहे पनि ४३ जना बालिका र २५७ जना बालक गरि हाल ३०० बन्दी रहेका यूसेप नेपालका निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।
बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भए पनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका समेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्ने लगायतको सुविधा सरकारले दिएको छ । सुधार गृहभित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिनुभयो ।