प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो ।
आज बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए । श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गर्नुभएको छ ।
श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ । २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मनु भएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको हो । उहाँ २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त हुनुभएको हो । उहाँले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।