फाइल फाेटाे

मकवाानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिला हकहित र अधिकार स्थापीत गर्न पितृ सत्तात्मक सोच र चिन्तनलाई हटाउन जरुरी रहेको बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले विगतदेखी नै जरा गाढेर बसेको पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्ने बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले महिलाको हक अधिकार स्थापीत गर्न प्रदेश सरकार ठोस नीति र कार्यक्रम सहित अघि बढेको उल्लेख गर्नुभएको छ । लैङगिक समानता, महिला हकहित र अधिकारमा जोड दिदैं हरेक वर्ष मनाउने गरिएको अन्तराष्ट्रिय महिला दिवसको शुभकामना ब्यक्त गर्नुहुँदै उहाँले सन्देशमा भन्नुभएको छ– “ यस वर्ष १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारको सन्दर्भमा नेपालले संवैधानिक तथा कानुनी रुपमा विविध सकारात्मक प्रबन्धहरु गरेको छ । यसैको परिणति यतिबेला राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखी संघ, प्रदेश एवम् स्थानीय सरकारसम्म महिलाहरुको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको छ । त्यसो त आधा हिस्सा जनसंख्या ओगटेका महिलाहरुको नीति निर्माणको तहमा बलियो उपस्थिती भएता पनि संविधान र कानुनमा उल्लेखित प्रबन्धको ब्यवहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ ।”