मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज कोरोना विरुद्धको खोप लगाउनुभएको छ । आज प्रदेशको राजधानी स्थित हेटौंडा अस्पतालको खोप केन्द्रमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाउनुभएको हो ।
खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरुलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह समेत गर्नुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको भन्नुहुँदै सरकारले तोकेको उमेर समूह एवम् लक्षित नागरिकहरुलाई प्रटोकल अनुसार नजिकको खोप केन्द्रमा गइ खोप लगाएर सुरक्षित हुन आग्रह गर्नुभयो ।
बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाईएको छ । खोप लगाएपनि सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञहरुको सुझाव रहेकोले सोही अनुसार गर्न समेत मुख्यमन्त्री पौडेलले अनुरोध गर्नुभयो ।