हेटाैंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीले वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ९ नम्बर वडाका पूर्व वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीकाे नेतृत्वमा गएकाे टाेलीले देशव्यापी रुपमा फैलिएको डेंगु, आखाँ पाक्ने रोग, लम्की स्किन, विकास निर्माणको गुणस्तरीयता, शिक्षा, स्वास्थ्य, सरसफाई, सडक, विद्युत, खानेपानी, रोजगारीलगायत साथै दैनिक सेवा प्रवाह र समसामयिक विषयमा वडा अध्यक्ष सुकराम केसीलाई उहाँकै कार्य कक्षमा ध्यानाकर्षण गराएको हो ।
वडाकमिटीले हाल देशव्यापी रुपमा फैलिदै गईरहेको डेंगु र आखाँ पाक्ने रोगका कारण नागरिकको स्वास्थ्यमा देखिएको जोखिम यस वडामा पनि रहेको पाईएको तर, यस विषयमा वडा कार्यालयले खासै चासो र ध्यान दिएको नपाईएकोप्रति नागरिकको समेत गुनासो आएको भन्दै वडाले तुरुन्त यस विषयमा पहल गरोस र नागरिकको स्वास्थ्य प्रति जिम्मेवार बनोस भन्दै ध्यानाकर्षण गराएको हो ।
त्यस्तै गाईबस्तुमा फैलिदै गईरहेको लम्की स्किन रोगको प्रकोपको रोकथाम, उपचार र राहतको लागि सम्बन्धित निकायमा पहल गर्न, आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न भौतिक निर्माणमा गुणस्तरहिन सामग्रीको प्रयोग भएको साथै कतिपय संरचनाहरु मापदण्ड विपरित समेत निर्माण भएको विषयमा ध्यानाकर्षण गराईएको एमाले ९ नम्बर वडा सचिव नारायण खतिवडाले बताउनुभयो ।
त्यस्तै वडामा हुने विकास निर्माणमा सबैको सहभागिता र सहमतिमा काम गर्न÷गराउन, सामाजिक क्षेत्रका कामहरु प्रभावकारी रुपमा अगाडी बढाउन, शिक्षा सुधारको योजना बनाउन साथै वडाको काम कारबाहीलाई पारदर्शी र जनमैत्री बनाउन ध्यानाकर्ष गराईएको उहाँले जानकारी दिनुभयो ।
ध्यानाकर्षणपत्र बुझ्दै वडा अध्यक्ष केसीले यस अघि भएका कमिकमजोरीलाई सच्याउँदै सबैको सल्लाह बमोजिम अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले वडाको विकासमा सबैको सहयोगको अपेक्षा रहेको र सहयोग गर्न आग्रह समेत गर्नुभयो । ध्यानाकर्षण बुझाउने टोलीमा पूर्व वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, पूर्व वडा सदस्य लक्ष्मी नेपालीलगायतको पनि सहभागिता थियो ।