मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी र हत्या मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । ५ वर्षीय नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार रहेका हेटौंडा–११, सिमलटारका ४५ वर्षीय सोम बहादुर राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
राईलाई ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरिएको जनाएको छ । २०६० साल असोज १८ गते हेटौंडा–११, सिमलटारका प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए । नाबालिकाको शव भोलिपल्ट हेटौंडा–१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो । राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।