मकवानपुर । मकवानपुरमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।
पुर्ब पश्चिम सडक खण्डमा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक मकवानपुरको मनहरी गाउँपालिका–६, स्थित नयाबस्ती डिपाट गाउँमा एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटना ज्यान गुमाउनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सोहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मनहरी गाउँपालिका–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
मृतक तीनै जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ । भने, दुर्घटनामा घाइते भएका ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३ का बिबेक तामाङ र एउटा ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका–३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राति करीब २ बजे दुवै ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।