सांकेतिक तस्विर

मकवानपुर– नेपाल रेडक्रस सोसाइटी मकवानपुरले विपद् पूर्व गर्नुपर्ने तयारी र विपद्पछि गरिने प्रतिकार्यका बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । मकवानपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई विपद् सम्बन्धी जानकारी दिने उदेश्यले बिहिबार कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला समितिका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख खुलालल विपद् पूर्व गर्नुपर्ने तयारी र विपद्पछि गरिने प्रतिकार्यका बारेमा सबैलाई जानकारी हुनु पर्ने बताउनुभयो । उहाँले स्थानिय तहले विशेष गरि उक्त विषयमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दिगो विपद् व्यवस्थापनका लागि आपतकालीन राहत वितरणमा भन्दा पनि विपद्बाट हुने असरलाई कम गर्ने कार्य सञ्चालनलाई प्राथमिकता दिनुपर्ने प्रमुख खुलालको भनाई थियो । विपद्लाई सम्बोधन गर्न स्थानीयस्तरमै क्षमता विकास गर्नुपर्ने तथा व्यक्तिगत विकासभन्दा पनि सामुदायिक क्षमता विकास तथा पूर्वतयारीमा जोड दिन जरुरी रहेको प्रमुख खुलालले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरले जिल्लाको कैलाश गाउँपालिकामा भूकम्प प्रभावितहरुलाई विपद् पूर्व गर्नुपर्ने तयारी र विपद्पछि गरिने प्रतिकार्यका बारेमा दक्ष बनाउने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । सन् २०१९ को अक्टोबरदेखि सुरु भएको परियोजना सन् २०२१ को नोभेम्बरसम्म सञ्चालन हुनेछ । बिहिबार रेडक्रस मकवानपुरले सरोकारवालालाई कार्यक्रमका बारेमा जानकारी समेत गराएको छ । भूकम्प पीडितलाई लक्षित गरेर कैलाश गाउँपालिकाको ५ र ६ नम्बर वडाका ४ वटा समुदाय र २ वटा विद्यालयमा पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक डम्बर विष्टले जानकारी दिनुभयो ।
नेपाल रेडक्रसले मकवानपुरसँगै नुवाकोट, रसुवा, रामेछाप र ओखलढुंगामा पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको विष्टले बताउनुभयो । अमेरिकी रेडक्रसको सहयोगमा सञ्चालित कार्यक्रमको बजेट ७९ लाख ४६ हजार रुपैयाँ रहेको छ । विपद् पूर्व तयारी एवम् विपद्पछिको प्रतिकार्यको अभ्यासमा स्थानीयलाई दक्ष बनाएर उनीहरुको सांस्कृतिक पक्षकै रुपमा विकसित गरिने कार्यक्रम अधिकृत हर्कबहादुर भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।