मकवानपुर– मकवानपुर प्रहरीले सरकारले गरेको लकडाउनको निर्णय अवज्ञा गर्ने ३८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको उल्लंघन गरी जवरजस्ती सवारी चलाउने ३८ सवारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले हेटौंडा ११, हेटौंडा–१ चौकिटोल, हेटौंडा–६ चौघडा, जिल्ला प्रहरी कार्यालय अगाडि तथा जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गरी सवारी चलाउने ३८ सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । आज बिहानै देखि लकडाउनको अवज्ञा गर्दै मानिसहरु अत्यावश्यक काम बाहेक नै घरबाट बाहिर निस्किएपछि प्रहरीले यस्तो कदम चालेको जनाइएको छ । नियन्त्रणमा लिईएका मोटर साईकललाई सम्झाई बुझाई छाडिएको तथा पुन लकडाउनको अवज्ञा गरेमा कडा कारवाही गरिने उहाँले जानकारी दिनुभयो । अवज्ञा गर्ने क्रम बढेपछि जिल्लाका मुख्य क्षेत्रहरुमा बिहानैदेखि सुरक्षाकर्मी बाक्लो रुपमा तैनाथ गरिएको थियो । त्यस्तै लकडाउन उल्लंघन गरि सवारी चलाउने र बजारमा अनावश्यक रूपमा हिडडुल गर्नेलाई घरभित्र बस्न आग्रह गर्दै सम्झाइबुझाई गरिरहेको उपरीक्षक राठौरले बताउनुभयो । प्रहरीले माईकिङ मार्फत पनि सुचना प्रवाह गरेको उहाँले जानकारी दिनुभयो ।