मकवानपुर– जिल्ला स्तरीय ढुंगा, गीट्टी, बालुवा अनुगमन तथा समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१६ हर्नामाडी स्थित सिद्धीविनायक बालुवा उद्योगलाई जरीवाना गर्ने निर्णय गरेको छ । बुधबार जिल्ला स्तरीय ढुंगा, गीट्टी, बालुवा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको समितिको बैठकले उद्योगलाई ३ लाख ५८ हजार ९ सय रुपैया जरीवाना गर्ने निर्णय गरेको हो ।

सव डिभिजन वन कार्यालय हर्नामाडीबाट अनुगमन तथा निरिक्षण गर्दा उद्योगमा स्रोत नखुलेको २४९८ घन मिटर नदि जन्य पदार्थ बरामद भएको थियो । बरामद गरिएको नदि जन्य पदार्थका बारेमा हेटौंडा उपमहानगरपालिकालाई वन कार्यालयले जानकारी गराउको थियो । त्यस मध्ये उपमहानगरपालिकाले १३१० घन मिटर स्रोत खुलेको र ९९७. ५ घनमिटर नदि जन्य पदार्थको स्रोत नखुलेको भनि समितिलाई गरेको सिफारीसको आधारमा समितिले उक्त परिणाम बराबरको जरीजाना गरेको हो । साथै बैठकले उक्त नदि जन्य पदार्थ उद्योगबाट बरामद गर्न र जरीवाना रकम असुल उपर गर्न उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।

त्यस्तै बुधबार बसेको बैठकले स्थानीय तहहरुलाई ठेक्का प्रकृया अविलम्ब अगाडी बढाउन र ठेक्का नभएमा अमानतमा उठाउन कानुन बमोजिम कार्ययोजना बनाएर स्वीकृत गराएर प्रकृया सुरु गर्ने निर्णय गरेको छ । साथै कानुन विपरित उत्खनन् हुने गरेका चुरे क्षेत्र, मध्यवर्ती क्षेत्र र वन क्षेत्रमा पुर्ण नियन्त्रण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले २०७६÷०६÷०८ मा समितिले गरेको निर्णय बमोजिम शर्त पालना नगर्ने क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले आईई र ठेक्का व्यवस्थापन समयमै गर्न स्थानीय तहहरुलाई निर्देशन दिने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
यसका साथै बैठकमा धादिङ जिल्लाले नदि जन्य पदार्थका विषयमा गरेको गुनासोका सम्बन्धमा थाहा नगरपालिकाको स्थानीय अनुगमन समितिलाई अनुगमन गरेर यथार्त विवरण पेश गर्न निर्देशन दिएको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरिक्षक सुशिल सिंह राठोर, शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक विकास राज खनाल, सुपारेटार व्यारेकका प्रमुख सेनानी अनिल बुडाथोकि, डिभिजन वन अधिकृत ईमनाथ पौडेल, दिर्घ नारायण कोईराला, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, ईन्जिनियर त्रिभुवन झा लगायतको उपस्थिती थियो ।