मकवानपुर– मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा आजबाट माटो परिक्षण प्रयोशाला संचालनमा आएको छ । ३ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयाेगमा प्रयोगशाला संचालनमा आएको हो ।

गाउँपालिकाको वडा ६ मा रहेको एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषि सहकारी संस्थाको भवनमा प्रदेश सरकारको करीब ३५ लाख र गाउँपालिकाको ५ लाख गरि करीब ४० लाख बराबरको लगानीमा प्रयोगशाला संचालनमा आएको हो । गाउँपालिकाले सहकारीलाई भवन निर्माण बाहेक ५ लाख सहयोग गरेको हो भने प्रदेश मन्त्रालयले मेसिनरी सामग्री खरिदकालागि सहयोग प्रदान गरेको छ । यसका साथै गाउँपालिकाले प्रयोगशालाका लागि २ जना प्राविधिक समेत नियुक्त गरेर संचालनमा ल्याएको हो ।

बिहिबार प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक कार्यक्रमका बीच प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषकहरुको लागि प्रयोगशाला अतिनै महत्वपूर्ण रहेको बताउनुभएको छ । कस्तो माटोमा कुल खेतिपाती रहन्छ सोही अनुरुप खेतिप्रणाली गर्न उहाँले सुझाव दिनुभयो । व्यवसायिक खेति तर्फ लाग्न युवावर्गमा अनुरोध गर्दै मन्त्री लामाले प्रयोगशालाको सहि सदुपयोग गर्न आग्रह कृषकहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले प्रदेश ३ ले आगामी वर्षहरुमा प्रदेशका १ सय १९ वटै स्थानिय तहहरुमा माटो परिक्षण प्रयोगशाला स्थापना गरि काम गर्ने बताउनुभएको छ ।
६ नम्बर वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गढीगाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा, मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, माटो परिक्षण विज्ञ गणेश शाह, गढीका वडा १ अध्यक्ष आईत सिं लो, २ का अध्यक्ष बखान सिंह पाख्रीन, ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरे, पालिकाका प्रशाशकिय प्रमुख राम प्रसाद पुडासैनीलगायतको उपस्थिती थियो ।