मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको छ । हेटौँडामा बिहिबार आयोजित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनु भएको हो ।

प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री जमकट्टेलले प्रतिष्ठानको स्थापनालाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको बताउनुभयो । आफु कानूनमन्त्री हुँदा कानून निर्माण गरेर प्रतिष्ठान गठन गरेको उल्लेख गर्दै उहाँले त्यस बेलादेखि अहिलेसम्म प्रदेश गौरवको आयोजनाका रुपमा काम भईरहेको र अब पनि हुने बताउनुभयो । उहाँले प्रतिष्ठान मार्फत प्रदेशका नागरिकको स्वास्थ्य अवस्थाको अध्ययन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा सामान्य औषधी उपचार गर्न पनि गाउँ–गाउँबाट मानिसहरु शहरमा झर्नुपर्ने अवस्थाको अन्तय गर्ने बताउनुभयो । प्रतिष्ठान स्थापना भएसँगै १३ जिल्लाको अस्पताल एवम् र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको मुख्यमन्त्री जमकट्टेलको भनाइ थियो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पताल अहिले जिल्लाको मात्र नभएर प्रदेशको गौरबको आयोजनाको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले हेटौँडा अस्पतालमा सुधार भइरहेको र अस्पतालको सुधारविरुद्ध माफियाहरु लागीपरेको दावी समेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत अस्पताल रहेको बताउनभयो । प्रदेश राजधानी हेटौंडामा मेडिकल सिटीका रुपमा प्रतिष्ठान रहेको बताउँदै उहाँले प्रतिष्ठानका लागि आवस्यक बजेट उपलब्ध गराउन र छुट्टै अस्पताल खोल्न समेत प्रदेश सरकार तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानले अहिले सम्म गरेका कामका विषयमा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रस्तुतीकरण गर्नु भएको थियो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु मधुसुधन पौडेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो । २०७६ साल असोज २ गते प्रदेशस्तरमै पहिलोपटक बागमती प्रदेशको राजधानी हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो ।











