हेटाैंडा । प्रथम बागमती प्रदेश युवा सम्मेलन–२०८० साेमबार आजबाट प्रदेशकाे राजधानी हेटाैंडामा सुरु भएकाे छ । प्रदेश युवा परिषद्को आयोजनामा भएको सम्मेलनको प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री मुक्तानले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको बताउनुुहुँदै मन्त्री मुक्तानले भन्नुभयो, “सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न आग्रह गर्छु ।” युवाका समस्या समाधान गर्ने उपाय खोजी गर्न सम्मेलन उपयोगी हुने मन्त्री मुक्तानले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रदेश सरकारले युवा परिषद् र खेलकुद विकास परिषद् गाभ्ने प्रयास गरिरहेको भन्दै युवालाई सचेत हुन आग्रह गर्नुभयो । उहाँले युवालाई प्रदेश सरकारको कामकारवाहीका बारेमा सघन निगरानी गर्न आग्रह गर्नुभएको छ । आफूले प्रदेश सभामा युवाको मुद्दालाई उठान गर्ने बताउनुहुँदै प्रदेश सभा सदस्य श्रेष्ठले युवालाई सीप र क्षमता विकासका लागि हरेक जिल्लामा प्रदेश सरकारको सीप विकास तालिम केन्द्र स्थापना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले प्रथम प्रदेश युवा सम्मेलन कोसेढुंगा साविक हुने विश्वास व्यक्त गर्नुभयो । युवाका लागि देशभित्रै अवसर सिर्जना गर्ने र उत्पादनमा युवालाई संलग्न गराउनुपर्ने बताउनुभयो ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउन, नवप्रवर्तन र उद्यमशीलतामा विकसित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सम्मेलनको अवधारणा प्रस्तुत गर्नुहुँदै परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । युवा पुस्तामा चरम निराशाका बीच आशा जगाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सम्मेलनमा युवाका विषयमा विभिन्न ५ विषयमा केन्द्रित रहेर समूह छलफल हुनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले, उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले र सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नुहुनेछ ।
आज र भाेली दुई दिन चल्ने सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवा सहभागी छन् । उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नीरबिक्रम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको पनि आतिथ्य रहेको थियाे ।