काठमाडौँ – निर्वाचन आयोगले हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाई गरिसकिएको जनाएको छ । आयोगले आज काठमाडौँमा नियमित पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामाग्री मध्ये ३४ प्रकारका सामाग्री प्राप्त भई भण्डारण समेत गरिएको जनाएको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका गर्न मिडिया र आयोगबीच समन्वय स्थापित गर्ने उद्देश्यले ७ वटै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गर्ने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको अनुगमनका लागि प्रेस काउन्सिल नेपालसँग सम्झौता भएको पनि जनाएको छ ।
यसैगरी चैत्र २९ गतेदेखि आउँदो वैशाख ३ गतेसम्म ७ प्रदेशका ८ स्थानमा देशका ७ सय ५३ निर्वाचन अधिकृत र ७७ वटा जिल्ला निर्वाचन प्रमुखका लागि अभिमुखीकरण तालिम प्रशिक्षण सञ्चालन हुने पनि प्रवक्ता शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिताको अनुगमन संयन्त्रमा राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुने व्यवस्था गरिएको र आचारसंहिता उल्लङ्घन भए कानुन बमोजिम कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता शिक्षाका लागि स्वयंसेवकलाई निर्वाचन हुने अघिल्लो दुई दिन अघिसम्म परिचालन गर्ने जनाएको छ ।