ललितपुरको बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुनप्रसाद सापकोटाले प्रदान गर्नुभयाे । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप लगाएका बालबालिका शून्य रहेको र आंशिक खोप लगाएका बालबालिका सात जना भेटिएकामा उनीहरूलाई पनि खाेप लगाएकाे स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्ता बालबालिकालाई पालिकाको १५ वटा गाउँघर क्लिनिक, १७ वटा खोप केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाइ र छ वटा स्वास्थ्य चौकीमा खोप लगाइएको थियो । अब आउने शनिवार महालक्ष्मी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।