नेपाल सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन हुँदा आज बुधवारसम्म पनि विभिन्न समस्या भइरहेका छन् । सबस्टेशन र ट्रान्सफर्मरमा समस्या हुँदा हिजो मङ्गलवार बेलुका नेपाल सरकार मातहतका सम्पूर्ण सर्भर डाउन भएका थिए । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई सास्ती भएको थियो ।
यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखामा वेबसाइटमा हिजो आएको समस्याले आजसम्मै प्रभाव पारेको छ । महाशाखामा वेबसाइटले काम नगर्दा मौसम पूर्वानुमानको वास्तविक तथ्याङ्क अपडेट गर्न समस्या भएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार वर्षा मापन गर्न, तापक्रमको तथ्याङ्कलगायतका कुरामा रियल टाइम अब्जर्भेशनमा समस्या भइरहेको छ ।
यसैबीच आज दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज , जुम्ला, पोखरा, ओखलढुङ्गालगायतका ठाउँमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति भने ठूलो पानी पर्ने अनुमान गरेको मौसमविद् अधिकारीले बताउनुभयो । यस्तै पानी पर्न थालेसँगै पश्चिम तराईमा अधिकतम तापक्रम घट्न थालेको छ । आज कतै पनि ३९ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नभएको महाशाखाले जनाएको छ ।