मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरुले प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा हेटौंडाका वडाहरुलाई उपेक्षा गरेको आरोप लगाएका छन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्षहरुले प्रदेश सरकारले बजेटमा हेटौंडाका वडाहरुलाई उपेक्षा गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भई हेटौंडामा हुने सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने चेतानवनी समेत दिएका छन् । पत्रकार सम्मेलनमा हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने उल्लेख गर्नुभयो ।
हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी कार्यालयहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको समेत बताउनुभयो ।
त्यसैगरी, हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–५ का वडाध्यक्ष शुशिल घिमिरे, हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिनुभयो । हेटौंडाको विकासलाई पछि पार्न खोजिए कडा रुपमा प्रस्तुत हुने उहाँहरुको भनाई छ ।