आज विश्व खाद्य स्वच्छता दिवस । स्वच्छ सन्तुलित आहार स्वास्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ ।
स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समुचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पाउने मौलिक अधिकारको व्यवस्था गरिएको छ । तर, त्यो व्यवस्था कार्यान्वयनको पक्ष भने फितलो छ । बजारमा पाइने प्राय: सबैजसो खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रङको समेत प्रयोग गर्ने गरेको पाइन्छ । तर, यसलाई रोकथाम र नियन्त्रण गर्न सरकारले खासै चासो दिएको छैन ।
हरेक दिनजसो बजार अनुगमन भइरहेको भनिए पनि उपभोक्ताले त्यो महसुस नै गर्न पाएका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महँगीको मारमा उपभोक्ता छन् । स्वस्थ जीवनका लागि स्वच्छ र सन्तुलित खाना एउटा महत्त्वपूर्ण पक्ष भनिए पनि कार्यान्वयन नहुँदा अस्वस्थ खानपानकै कारण जटिल प्रकारका रोग समेत लाग्ने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वमा हरेक वर्ष दस जनामध्ये एक जना विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी पर्छन् ।
यसैबीच, दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वस्थ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चरणसँग सम्बद्ध सबैले इमानदार र प्रतिबद्ध भएर काम गर्न आवश्यक भएको उहाँको भनाइ छ।