मकवानपुर– बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ५८ प्रतिशत रकम खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ५८ प्रतिशत खर्च गरेको हाे ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात करीब ५१ प्रतिशत, पूँजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४८ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ ३० करोड अर्थात करीब १ प्रतिशत गरि कुल ४७ अर्ब ६० करोड ७८ लाख बराबरको आय व्यवसहितको बजेट ल्याएको थियो । जसमध्ये गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्ममा कुल बजेट मध्ये २७ अर्ब ९५ करोड ४६ लाख १९ हजार अर्थात करीब ५८ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल बजेट मध्ये असार मसान्तसम्मा चालु तर्फ विनियोजित बजेटको करीब ६० प्रतिशत र पूँजीगत तर्फ ५७ प्रतिशत रकम खर्च भएको छ । मन्त्रालयगत रुपमा सबै भन्दा बढी रकम सामाजिक विकास मन्त्रालयले खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले सबै भन्दा बढी ६५ दशमलव ५७ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले करीब ६३ दशमलव ८६ प्रतिशत, कृषि तथा सहकारी मन्त्रालयले करीब ५८ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २८ प्रतिशत खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम १८ प्रतिशत खर्च गरेको जनाएको छ ।
बागमती प्रदेश सरकारकाे अघिल्लाे आर्थिक वर्ष २०७५/७६ मा भन्दा गत आर्थिक वर्ष २०७६/७७ मा करीब दुइ प्रतिशत कम खर्च भएकाे जनाइएकाे छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले ६० दशमलव ६५ प्रतिशत खर्च गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा दुइ प्रतिशत कम भएकाे मन्त्रालयले जनाएको छ ।