हेटौंडाः बागमती प्रदेशसभा सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । बागमती प्रदेशसभाका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनका लागि आज २ बजेसम्ममा मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।
पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गतेदेखि नै सुरुवात गर्ने निर्णय गरेपनि त्यसलाई संसोधन गरेर एक दिनपछि सारिएको सचिव खड्काले बताउनुभयो । सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुने उहाँले बताउनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरु मध्यबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम प्रदेश सभा सचिवालयले आज बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ । यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ ।