मकवानपुर । बागमती प्रदेशसभामा आज दिउँसो २ बजे प्रदेश सरकारले २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची थियो । बैठकमा लागि प्रदेश प्रमुखसहित सबै उपस्थित भए । प्रदेशसभामा सार्वजनिक गर्नका लागि सिँगारिएको फाइल जसै प्रदेश प्रमुख यादवचन्द्र शर्माको हातमा पुग्यो– उनले उत्साहपूर्वक नीति तथा कार्यक्रमको फाइल खोलेर सार्वजनिक गरे ।
यसलगत्तै बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरे– अब म माननीय प्रदेश प्रमुख…, उनको आवाज यत्तिमै रोकियो । प्रदेश प्रमुख शर्माले देखाएको फाइल त खाली पो थियो, तर उनले पत्तो पाएनन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइल नै खाली भेटिएपछि प्रदेश प्रमुखसहित सबै अलमलमा परे । फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि अलमल हुनु स्वाभाविक थियो । पछि सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएपछि उनले सभामा वाचन गरे ।
मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाएका थिए । तर प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदले सरकारले विनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाए ।