मकवानपुर । मकवानपुरमा आज वैशाख ६ र भोली ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा भिटामिन ‘ए’ खाने ६ देखि ५९ महिना उमेरसम्मका ३२ हजार ५४२ र जुकाको औषधि खाने एक वर्षदेखि पाँच वर्षसम्मका २८ हजार ४९८ जना बालबालिका रहेको कार्यालयले जनाएको छ । आज र भोली कार्यक्रम सञ्चालन हुने र दुबै दिन औषधि खुवाउन छुटेकालाई स्वास्थ्य स्वयम्सेविका मार्फत घरमै पुगेर औषधि खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन हेटौँडा उपमहानगरपालिकामा ९२, मनहरी गाउँपालिकामा २१, राक्सिराङ गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ४२, भीमफेदी गाउँपालिकामा ५०, बागमती गाउँपालिकामा ३२, बकैया गाउँपालिकामा ६५, मकवानपुरगढी गाउँपालिकामा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयम्सेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिनुभयो ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै आज र भोलि यसअघि खोप लगाउन छुटेका बालबालिका खोप लगाइने साथै ६ देखि २३ महिनासम्मका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व (बालभिटा) समेत वितरण गरिने खोप फोकल पर्सन रिमालले जानकारी दिनुभयो । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।