सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटिएका छन् । आर्थिक सर्वेक्षणअनुसार यो आव ०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ । चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ ।
त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ । फलस्वरूप, आर्थिक वर्ष ०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो ।