काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको चुनाव घोषणापछिको अवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । गएकाे पुस तेस्रो हप्ता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको थियो । पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गएकाे पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।