नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएकाे छ । शनिवार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताउनुभएको हो ।
उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले स्वीकार गर्न र समर्थन गर्न नसकिने बताउनु भएकाे हाे । अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्याेलग्रस्त र दिशाहीन रहेको बताउनु भयो ।
सरकारको नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘यो नीति, कार्यक्रम, नीति कार्यक्रम जस्तै छैन । यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त्यस सम्बन्धमा यसमा खासै कुरा छैन । यो त वार्षिक कार्ययोजना हो । दुई वर्ष गठबन्धनले तोकेको हुनाले दुई वर्षे कार्यक्रम राखिएको हो कि ? त्यसकारण यो धेरै अस्पष्ट, अन्याेलग्रस्त, दिशाहीन छ ।’ ओलीले देशको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको दाबी गर्दै आपत्ति जनाउनु भयो ।